राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज १८ काठमाडौँ I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनको बाटो रोज्न नहुने भन्दै निर्वाचनबाटै सरकार फेरबदल गर्नुपर्ने बताएका छन् । लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी कुनै एउटा राजनीतिक दलको मात्र नभएको भन्दै उनले लोकतन्त्र संकटमा परे नेपाली जनताले नै त्यसको रक्षा गर्ने दाबी गरे ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्रको नाममा कुनै दलले आफूलाई यसको एकमात्र संरक्षकका रूपमा प्रस्तुत गर्न नहुने बताए ।
‘लोकतन्त्रको यति धेरै दोहाई पनि नदिनुस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस् । लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्,’ उनले भने । उनले लोकतन्त्रका विधि, मूल्य र मान्यतालाई कमजोर पार्ने गतिविधिले भने सरकार र देशलाई नै संकटतर्फ लैजान सक्ने चेतावनी दिए । पछिल्लो समय आन्दोलनमार्फत सरकार ढाल्ने चर्चा भइरहेको भन्दै लामिछानेले त्यसतर्फ नजान राजनीतिक दलहरूलाई आग्रह गरे ।
‘आन्दोलनबाट सरकार ढाल्नेतर्फ अब नलागौँ। अब चुनावबाट मात्रै सरकार फेरौँ। चुनावले सरकार फेराउँछ,’ उनले स्पष्ट पारे । लामिछानेले निर्वाचनबाट बनेको सरकार र जनमतलाई अपमान गर्ने गरी निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउन नहुने बताए । निर्वाचनका क्रममा सुरक्षा व्यवस्था गरिएको विषयलाई लिएर नेपाली सेना तथा विदेशी शक्तिको भूमिकामाथि समेत प्रश्न उठाउने गरिएको भन्दै उनले यस्ता संवेदनशील विषयमा हलुका टिप्पणी नगर्न आग्रह गरे ।
उनले नेपाली जनताले मतमार्फत दिएको निर्णयलाई सम्मान गर्नुपर्नेमा जोड दिए । निर्वाचनलाई नै गलत भएको दाबी गर्ने वा निर्वाचनबाट प्राप्त जनादेशलाई अन्यथा व्याख्या गर्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने उनको भनाइ थियो । लामिछानेले आफूहरूले अघिल्लो निर्वाचनका क्रममा जनतासँग गरेको अपिलसमेत स्मरण गरे । नेपाली कांग्रेस र बीपी कोइरालाको विचारप्रति आस्था राख्ने मतदातालाई कांग्रेसलाई एकपटक प्रतिपक्षमा राखेर आफूहरूको काम हेर्न आग्रह गरेको उनले बताए ।
‘तपाईं नेपाली कांग्रेसलाई माया गर्नुहुन्छ, तपाईं बीपीलाई माया गर्नुहुन्छ, तपाईं विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी हो भने एकपटक आफ्नो दललाई प्रतिपक्षमा राख्नुस्, दल छोड्न पर्दैन,’ उनले भने । आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्न सक्ने भन्दै लामिछानेले जनताको मतलाई नै सरकारको मूल्यांकन गर्ने अन्तिम आधार बनाउनुपर्ने बताए ।
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्,’ उनले भने । लामिछानेले निर्वाचनमार्फत जनताले सरकार बनाउने र आवश्यक परे अर्को निर्वाचनमार्फत सरकार परिवर्तन गर्ने लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।