शुक्रबार, २३ आश्विन, २०८३

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

राष्ट्रिय सन्‍देश संबाददाता, ६० मिनेट पहिले

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

२०८३ असोज २३ काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट भएको छ ।

मन्त्री गौतमसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहयता प्रदान गरेको र यस्तो विकराल अवस्थाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको क्रुर रूप स्मरण गराएको बताइन ।

जलवायु परिवर्तनको असर जहाँ जुनसुकै समयमा हुने हुँदा कानुनको राज्य, बहुपक्षीयवादमा विश्‍वास गर्ने राज्यहरूले आफ्‍नो अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नेतर्फ गम्भीर हुनुपर्ने विषय रहेको बताइन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानुनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देशबिचको सहमति गर्न प्रक्रिया सक्दो चाँडो गर्न दुवै पक्षबिच छलफल भएको उनले बताइन ।

त्यस्तै, नेपाल सरकारले नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्‍डअनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भएको बताइएको छ । राजदूत इन्जाले यसमार्फत  हवाई सुरक्षा कालोसूचिबाट हट्नको लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गरिन । 

भेटमा दुवै पक्षले द्बिपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकताअनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन । भेटमा कानुन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो ।

advertisement_1676553908.gif