सोमबार, १९ आश्विन, २०८३

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

२०८३ असोज १८ काठमाडौँ I जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए । उनले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

भण्डारीले वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

‘वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउँदै मुलुकलाई पूर्ण समावेशिताको बाटोमा अघि बढाउने जसपा नेपालको अभियानमा नेपाली कांग्रेसको बलियो साथ र समर्थनको अपेक्षा गर्दछु,’ उनले भने ।

उनले लोकतन्त्रलाई कुनै पनि रूपमा संकुचित गर्न नहुने बताए । ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन । नेपाली जनताले लोकतन्त्रको कुनै पनि संकुचन स्वीकार गर्ने छैनन्,’ भण्डारीले भने ।

advertisement_1676551646.gif