राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १३ मंसिर, २०८१
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीमा सोमबार चीन जाने ३९ जना सरकारी पदाधिकारी रहेका छन्। जसमध्ये ९ जना सांसद रहेका छन् । निजी खर्चमा ४८ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली प्रधानमन्त्री ओली सोमबार चीनको भ्रमणका लागि प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीको लागि पररास्ट्रमंत्री आरजु देउबा आज चीन प्रस्थान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको बताइएको छ। प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनको फलोअप, बीआरआईमा सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुदान सहयोगका लागि प्रस्ताव लगायतका एजेण्डामा छलफलको तयारी छ। तर द्विपक्षीय छलफलका औपचारिक एजेण्डाहरू भने सार्वजनिक भएका छैनन् ।
प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट चीन जाने बताइएको छ।