राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ बैशाख ३०, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले नदिए संसद् बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै उनले प्रधानमन्त्रीले निरन्तर रूपमा संसदीय मूल्य-मान्यता र परम्पराको उपेक्षा गरेको आरोप लगाए ।
सांसद केसीले संसदीय पद्धतिमा प्रधानमन्त्रीको उपस्थिति र उत्तरदायित्व अनिवार्य हुने उल्लेख गर्दै एकपछि अर्को गर्दै प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गर्नु लोकतन्त्रका लागि शुभ संकेत नभएको जिकिर गरे ।
“प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले तोकेको मन्त्रीले प्रस्ताव टेबल गर्नु सामान्य परम्परा भए पनि गम्भीर छलफल र जवाफ दिने बेलामै प्रधानमन्त्री नआउनु स्वीकार्य छैन,” केसीले भने । उनले प्रस्ताव प्रस्तुत गर्दा मन्त्रीले गरे पनि नीतिगत प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री नै रोस्टममा उभिनुपर्ने अडान राखे ।
सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको अनुपस्थिति जारी रहेमा कांग्रेस बैठकमा सहभागी हुन नसक्ने र कडा रूपमा बहिष्कार गर्ने स्पष्ट पारे ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआएको भन्दै संसद्मा विपक्षी दलहरूले अवरोध सिर्जना गरेपछि केही समयका लागि बैठक स्थगित समेत भएको थियो। विपक्षीहरूको यो आक्रामक अडानले संसद्मा सरकार र प्रतिपक्षबीचको दूरी झन् बढाएको देखिएको छ ।