राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ साउन २१, काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज बिहीबार अपराह्न १:१५ बजे संसद् भवन (सिंहदरबार) मा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यकक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तरसमेत गृहमन्त्रीले दिने कार्यक्रम छ ।
त्यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूचीसमेत राष्ट्रियसभाले सार्वजनिक गरेको छ ।