राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १३ माघ, २०८१
फाइल फोटो
१३ माघ, काठमाडौं । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी हुन्।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए। तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।
इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।