राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ जेष्ठ ०८ ,काठमाडौं।कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खारेज गरेको छ।जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले साविकको अभियोगपत्र परिमार्जन गर्दै सहकारी ठगीतर्फको दाबी मात्र कायम रहने आदेश दिएको हो।
महान्यायाधिवक्ता कार्यालयको पूर्वनिर्णय बमोजिम जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अभियोगपत्र संशोधनका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो । अदालतको यो निर्णयसँगै लामिछानेसहितका प्रतिवादीहरूले अब केवल सहकारी ठगीको अभियोगमा मात्र कानुनी प्रक्रियाको सामना गर्नुपर्नेछ।
अदालतको आदेशमा सहकारीको बचत डुबेका जाहेरवाला (पीडित) हरूको मुख्य माग नै आफ्नो बचत रकम फिर्ता पाउनु रहेको र प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मागदाबी उनीहरूको समेत नरहेको उल्लेख गरिएको छ ।
"संशोधनपछि पनि जाहेरवालाको मागबमोजिमको सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने नै देखिन्छ," आदेशमा भनिएको छ।अदालतले मुद्दा संशोधन नहुँदा कानुनी प्रक्रिया थप जटिल बन्ने र पीडितले बेलैमा न्याय नपाउने ठहर समेत गरेको छ।
प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा कायमै रहँदा भविष्यमा हुन सक्ने मिलापत्र तथा पीडितहरूले बिगो रकम सहज रूपमा फिर्ता पाउने प्रक्रिया प्राविधिक र कानुनी रूपमा झन् बढी जटिल बन्न जाने आदेशमा व्याख्या गरिएको छ ।
लामिछानेसहितका प्रतिवादीहरूमाथि सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको अभियोगमा यसअघि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहित तीनवटा कसुरमा मुद्दा चलाइएको थियो ।अदालतको पछिल्लो आदेशले मूल मुद्दा (सहकारी ठगी) लाई यथावत राख्दै अन्य दुईवटा विशिष्ट प्रकृतिका दाबीलाई भने अभियोगपत्रबाट हटाउने अनुमति दिएको हो ।