राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ भदौ २५ काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज अपराह्न बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे तय गरिएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
यसका साथै उनले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत पेस गर्नेछन् ।
यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने’ प्रस्तावमाथि सामान्य छलफलको प्रस्ताव राख्नेछन् । बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
उता राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछन् । साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।