सोमबार, १९ आश्विन, २०८३

संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई

२०८३ असोज १८ काठमाडौँ I पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित भएर बस्न नसक्ने बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा विश्वमा तीव्र विकास भइरहेको भन्दै त्यसअनुसार नेपालको राजनीतिक परिवेशलाई बुझ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले २१औँ शताब्दीमा आइपुग्दा विश्वमा जुनखालको चमत्कारी विकास भएको छ, राजनीतिक दलहरूलाई पहिलेकै ढाँचामा रहने छुट दिँदैन । त्यसैले नेपालमा जुनखालको राजनीतिक उथलपुथल भइरहेको छ, त्यसको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेश बुझ्न जरुरी छ ।’

संविधान जारी भएको १२ वर्ष भइसक्दा पनि सरकार बनाउने र गिराउने खेलमै केन्द्रित भएको भन्दै उनले आर्थिक समृद्धिको दिशामा अघि बढ्न नसक्दा जनतामा असन्तुष्टि बढेको बताए ।

‘संविधान जारी भएको १२ वर्ष भइसक्यो । त्यसपछि सरकार बनाउने र गिराउने खेलमा मात्रै लाग्यौँ । आर्थिक समृद्धिको दिशामा जान सकेनौँ। जनतामा असन्तुष्टि आयो । गत वर्ष जुन विद्रोह आयो, कतिपयले विदेशीले गरायो भन्छन् । तर अरूलाई दोष दिने होइन, मुख्यतः हाम्रै कारणले गर्दा हो । हाम्रा छोराछोरीलाई किन सपना देखाउन सकेनौँ ?’ उनले भने ।

भट्टराईले ठूलो बलिदानबाट निर्माण भएको संविधानमा विभिन्न बहानामा छेडखानी गर्न नहुने बताए । आवश्यक विषय भए संविधानमा थप गर्न सकिने उनको भनाइ थियो ।

advertisement_1676551537.gif