राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ असोज १४ काठमाडौँ I हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार सिंहदरबारमा आयोजित एक विशेष समारोहका बिच सभामुख डोलप्रसाद अर्यालसमक्ष सभापति पराजुलीले शपथ लिएका हुन् हिमालमा जलवायु परिवर्तनले पारेको असरका साथै भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद्को गहन अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानुनी एवं संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्ने मुख्य उद्देश्यका साथ यो विशेष समिति गठन गरिएको हो ।
विपद् पूर्वतयारीका लागि हालसम्म भएका कामकारबाहीको समीक्षा गर्दै उद्धार, राहत तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाइने बताइएको छ।विकासका पूर्वाधारहरूलाई जलवायु परिवर्तनसँग जुध्न सक्ने र सुरक्षित बनाउने विषयमा समितिले विस्तृत अध्ययन गर्ने तथा विपद् जोखिम न्यूनीकरणका लागि एक सशक्त प्रतिवेदन तयार पारी जनतालाई न्यायको अनुभूति गराउने प्रतिबद्धता समेत गरिएको छ ।
दसैँ-तिहारको बिदा र संसद् अधिवेशनको अन्तरालका कारण समयको चाप रहेको र समेट्नुपर्ने विषयहरू निकै बृहत् भए तापनि तोकिएको समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न अधिकतम प्रयास गरिने बताइएको छ ।