राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८३ असार ३०, काठमाडौँ । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । सरकारी सेवाहरूलाई डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको नागरिक एपमा नयाँ सुविधा थपिएको छ, जसअनुसार अब प्रयोगकर्ताहरूले एपमार्फत नै देशभर उपलब्ध रगतको विस्तृत विवरण हेर्न सक्ने भएका छन् ।
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल समावेश गरिएसँगै आम नागरिकले विभिन्न रक्तसञ्चार केन्द्रहरूमा कुन रक्त समूहको रगत कति युनिट मौज्दात छ भन्ने जानकारी वास्तविक समय (रियल टाइम) मा प्राप्त गर्न सक्ने छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यो नयाँ सुविधामार्फत देशभरका सबै रक्तसञ्चार केन्द्रहरूमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात अब एकै स्थानबाट सजिलै हेर्न सकिनेछ ।
स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने सरकारको उद्देश्यअनुरूप यो महत्त्वपूर्ण सेवालाई नागरिक एपमा एकीकृत गरिएको हो ।
यो डिजिटल सेवाको सुरुवातसँगै आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बाध्यतामा रहेका बिरामी तथा उनीहरूका आफन्तलाई आवश्यक जानकारी निकै छिटो र सहज रूपमा प्राप्त हुने विश्वास गरिएको छ ।
यसका साथै नयाँ प्रणालीले मुलुकको समग्र रक्त व्यवस्थापन कार्यलाई थप सहज बनाउनुका साथै विभिन्न स्वास्थ्य संस्था र रक्तसञ्चार सेवाहरूबीचको आपसी समन्वयलाई समेत अझ सुदृढ तुल्याउने अपेक्षा गरिएको छ ।