शुक्रबार, २ फाल्गुन, २०८१

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ४ भाद्र, २०८१

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौं, भदौ ४ । सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध हटाउने सरकारले तयारी गरेको छ । टिकटकले नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार प्रतिबन्ध हटाउन गृहकार्यमा लागेको हो ।

टिकटकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्बोधन गरेर नेपालको कानून तथा नीति/नियम पालना गर्ने प्रतिबद्धता जनाएको छ। टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले पत्रमा हस्ताक्षर गरेका छन् ।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्राचार गर्दै आएको टिकटकले पछिल्लो पटक सिधै सञ्चारमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । नेपाल सरकार र टिकटकबीच आठ पटक पत्राचार भइसकेको छ । 

पछिल्लो प्रतिबद्धतासँगै सरकारले १० महिना अगाडि टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा हुने सम्भावना बढेको छ । पत्रपछि टिकटक माथिको प्रतिबन्ध फुकुवाका विषयमा मन्त्रालयले छलफल सुरु गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मकए पक्षमा रहेको बताइएको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif