बिहीबार, २० कार्तिक, २०८३

अमेरिकी मध्यावधि चुनावमा ट्रम्पको पार्टीलाई झट्का, दुवै सदनमा डेमोक्र्याटको वर्चस्व र ऐतिहासिक जीत

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

अमेरिकी मध्यावधि चुनावमा ट्रम्पको पार्टीलाई झट्का, दुवै सदनमा डेमोक्र्याटको वर्चस्व र ऐतिहासिक जीत

२०८३ कार्तिक १८ वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावको अन्तिम नतिजाअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदन (प्रतिनिधिसभा र सिनेट) मा आफ्नो स्पष्ट बहुमत गुमाएको छ ।बीबीसीका अनुसार रिपब्लिकन पार्टीको सुरक्षित गढ मानिँदै आएका टेक्ससमा ३८ वर्ष र कन्सासमा ९४ वर्षपछि डेमोक्र्याट उम्मेदवारहरू सिनेटमा निर्वाचित हुँदै ऐतिहासिक सफलता हात पारेका छन् ।

दुई वर्षअघि महँगी नियन्त्रण गर्ने बाचासहित सत्तामा फर्किएका ट्रम्पलाई अहिले त्यही आर्थिक दबावले घेरेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। बजारमा चुलिएको अस्वाभाविक मूल्यवृद्धि, जीवनयापनको उच्च लागत तथा इरान युद्धका कारण इन्धन आपूर्तिमा आएको अवरोधले अमेरिकी मतदातामा सिर्जना गरेको व्यापक असन्तोष नै यो चुनावी परिणामको प्रमुख कारक बनेको छ।

यो पराजयले अमेरिकी संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति ट्रम्पको चार वर्षे कार्यकाल स्वतः समाप्त नभए पनि बाँकी अवधि शासन सञ्चालन गर्न भने निकै चुनौतीपूर्ण हुने देखिन्छ। आउँदो जनवरीदेखि सुरु हुने नयाँ संसद्मा बजेट पारित गर्न, नयाँ कानुन निर्माण गर्न तथा महत्त्वपूर्ण नीतिगत निर्णयहरू लिन ट्रम्पले विपक्षी डेमोक्र्याटहरूसँग अनिवार्य सम्झौता र सहकार्य गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।

दुवै सदनमा स्पष्ट बहुमत हासिल गरेपछि डेमोक्र्याटहरू आगामी सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि थप उत्साहित बनेका छन् भने ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग दर्ता गर्ने वा उनका नीतिहरूमाथि कडा संसदीय निगरानी बढाउने बाटो समेत खुलेको छ। यसैबीच, राष्ट्रपति ट्रम्पले चुनावी परिणामलाई स्वीकार गर्ने जनाउँदै अमेरिकी हितका लागि विपक्षी डेमोक्र्याटहरूसँग मिलेर काम गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन्।

advertisement_1680627680.gif