बिहीबार, १५ आश्विन, २०८३

अमेरिकी सेनाको दुई दशक लामो उपस्थिति अन्त्य, इराकद्वारा १ अक्टोबरमा ‘सम्प्रभुता दिवस’ मनाउने घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

अमेरिकी सेनाको दुई दशक लामो उपस्थिति अन्त्य, इराकद्वारा १ अक्टोबरमा ‘सम्प्रभुता दिवस’ मनाउने घोषणा

२०८३ असोज १४ काठमाडौँ I दुई दशक लामो सैन्य उपस्थिति र उतारचढावपूर्ण राजनीतिक घटनाक्रमपश्चात् अमेरिकी सेनाले इराकबाट आफ्ना सम्पूर्ण सैनिक फिर्ता गरेको छ। सन् २००३ मा तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्ने उद्देश्यका साथ अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण सुरु गरेको थियो। त्यसयता लामो समयसम्म सैन्य उपस्थिति जनाउँदै अमेरिकाले इराकमा शिया-नेतृत्वको सरकार गठनमा सहयोग पुर्‍याएको थियो।

यसअघि सन् २०११ को अन्त्यमा अमेरिकी सेना इराकबाट बाहिरिएको भए तापनि त्यसको तीन वर्ष नपुग्दै पुनः फर्कन बाध्य भएको थियो। सन् २०१४ मा सुन्नी उग्रवादी समूह ‘इस्लामिक स्टेट’ (आईएस) ले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरी व्यापक हिंसा र सामूहिक हत्याका गतिविधि सञ्चालन गरेपछि त्यसलाई पराजित गर्न इराकी सेनाको सहयोगका लागि अमेरिकी गठबन्धन सेना पुनः इराक प्रवेश गरेको थियो। सन् २०१७ मा इराक र सन् २०१९ मा सिरियामा आईएस पराजित भए पनि त्यसका अवशेषहरूविरुद्धको कारबाहीलाई निरन्तरता दिन गठबन्धन सेना इराकमै रहँदै आएको थियो। यो दुई दशकको अवधिमा कम्तीमा ४,५०० अमेरिकी सैनिकले ज्यान गुमाएका छन्।

सन् २०२४ मा इराक र अमेरिकाबिच भएको द्विपक्षीय सहमतिअनुसार दुई वर्षभित्र अन्तर्राष्ट्रिय गठबन्धनको सैन्य उपस्थिति अन्त्य गर्ने खाका तयार पारिएको थियो। सोही सहमतिलाई कार्यान्वयन गर्दै अमेरिकी सेनाको अन्तिम डफ्फाले बुधबार इराक छाडेको हो। सहमतिबमोजिम गठबन्धन सैनिकहरूले देशभरका आफ्ना प्रमुख सैन्य आधार शिविरहरू छाड्दै उपस्थिति उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित गरेका थिए, जहाँबाट पनि उनीहरूको अन्तिम फिर्ती सम्पन्न भएको छ।

गठबन्धन सेनाको पूर्ण फिर्तीसँगै इराकका प्रधानमन्त्री अली अल-जैदीले अक्टोबर १ लाई राष्ट्रिय ‘सम्प्रभुता दिवस’का रूपमा मनाउने घोषणा गरेका छन्। इराकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरूले सैनिक फिर्तीलाई देशको पूर्ण सम्प्रभुतातर्फको ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन्। इराकी सरकारले विदेशी सेनाको बहिर्गमनसँगै इरानसमर्थित सशस्त्र समूहहरूले हतियार राख्नका लागि दिँदै आएका तर्कहरू समाप्त हुने अपेक्षा राखेको छ।

यद्यपि, सेना फिर्ता भए पनि राज्यको नियन्त्रणबाहिर रहेका हतियार व्यवस्थापन गर्ने चुनौती भने कायमै छ। प्रधानमन्त्री जैदीले सबै सशस्त्र समूहहरूलाई आफ्ना हतियार राज्यलाई बुझाउन ताकेता गरे तापनि केही शक्तिशाली समूहहरूले हतियार त्याग्न अस्वीकार गरिरहेका छन्। उनीहरूले विदेशी सैन्य उपस्थितिको अन्त्यसँगै इराकमा अमेरिकाको राजनीतिक तथा आर्थिक हस्तक्षेपसमेत पूर्ण रूपमा रोकिनुपर्ने माग राख्दै आएका छन्। यसैबिच, शक्तिशाली सशस्त्र समूह ‘काताइब हिज्बुल्लाह’ले विदेशी सेनाको बहिर्गमनलाई पूर्ण राष्ट्रिय सम्प्रभुतातर्फको सकारात्मक सुरुवातका रूपमा टिप्पणी गरेको छ।

advertisement_1676553851.gif