राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३
२०८३ भदौ ११ काठमाडौँ संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
मन्त्रालयको प्रवक्ता कार्यालयद्वारा जारी विज्ञप्तिमा मृतकका परिवार र आफन्तजनप्रति समवेदना प्रकट गर्दै यस कठिन घडीमा अमेरिका नेपालको साथमा रहेको प्रतिबद्धता जनाइएको छ।
यसैबीच, अमेरिकी सरकारले बाढी प्रभावित समुदायको तत्काल सहयोगका लागि ५ लाख अमेरिकी डलर (करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी) राहत सहायता घोषणा गरेको छ।
उक्त रकम ‘क्याथोलिक रिलिफ सर्भिसेज’ मार्फत आपत्कालीन आवास, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी क्षेत्रमा खर्च गरिनेछ। साथै, राहत तथा पुनर्स्थापनाका कार्यमा सहजीकरण र अनुगमनका लागि अमेरिकी विदेश मन्त्रालयले एक ‘विपद् प्रतिकार्य सल्लाहकार’ लाई समेत प्रभावित क्षेत्रमा खटाउने जानकारी दिएको छ।
उता काठमाडौँस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको सुरक्षाका लागि स्थानीय अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। आपत्कालीन सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकहरूलाई दूतावासको इमेल वा हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गर्दै स्थानीय समाचार नियाल्न, अधिकारीहरूको निर्देशन पालना गर्न र आपत्कालीन सूचनाका लागि ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ (STEP) मा आबद्ध हुन सुझाव दिइएको छ।