शनिबार, १३ भाद्र, २०८३

भारतमा भेटिए ७ शव, नेपालको बाढीमा बगेर गएको अनुमान

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ भाद्र, २०८३

भारतमा भेटिए ७ शव, नेपालको बाढीमा बगेर गएको अनुमान

२०८३ भदौ १२ काठमाडौँ । नेपालमा परेको भारी वर्षा र बाढीको असर अब भारतका सीमावर्ती क्षेत्रहरूमा पनि देखिन थालेको छ । उत्तर प्रदेशको महाराजगञ्जमा गण्डकी (नारायणी) नदीबाट चार वटा र कुशीनगरबाट तीन वटा शव फेला परेका छन् ।

अधिकारीहरूका अनुसार फेला परेका शवहरूमा पाँच जना महिला र दुई जना पुरुष रहेका छन् । नेपालमा आएको भीषण बाढीका क्रममा नदीले बगाएका यी शवहरू तीव्र बहावसँगै भारततर्फ बगेर आएको आशङ्का गरिएको छ ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा गस्ती तथा निगरानी गर्ने क्रममा ती शवहरू बगिरहेको देखेको थियो । उद्धार टोलीले मोटरबोटको सहायताले शवहरूलाई नदीबाट बाहिर निकाली महाराजगञ्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ । हालसम्म मृतकरूको पहिचान भने हुन सकेको छैन ।

निचलौल तहसीलका उपजिल्लाधिकारी सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीसँग भने, “बिहीबार दिउँसो गण्डक नदीबाट चार वटा शव फेला परेका छन् । जसमा तीन जना महिला र एक जना पुरुष छन्। यी शवहरू माथिल्लो तटीय क्षेत्र अर्थात् नेपालबाट बगेर आएको बलियो सम्भावना रहेको छ ।”

उनले अगाडि भने, “हालसम्म शवहरूको पहिचान हुन सकेको छैन । हामी निरन्तर नेपाली प्रशासनको सम्पर्कमा छौँ। नदी किनारमा एसडीआरएफ, आरआरटी र एसएसबीका टोलीहरूले लगातार निगरानी गरिरहेका छन् ।” मृतकहरूको पहिचान गर्न र उनीहरूका आफन्तको खोजीका लागि एसएसबी, महाराजगञ्ज र कुशीनगर जिल्ला प्रशासन नेपालका सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेका छन् ।

कुशीनगरका थप प्रहरी उपरीक्षक सिद्धार्थ वर्माले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार, “कुशीनगरमा दुई महिला र एक पुरुष गरी तीन वटा शव फेला परेका छन् । तीनै वटा शवलाई फ्रिजरमा सुरक्षित राखिएको छ र पहिचानको प्रक्रिया अघि बढाइएको छ ।”

नेपालमा भएको भारी वर्षा र बाढीका कारण गण्डकी नदीको बहाव निकै तीव्र  छ । आउँदा दिनहरूमा अझै अन्य शवहरू भारततर्फ बगेर आउन सक्ने आशङ्का अधिकारीहरूले गरेका छन् ।

महाराजगञ्ज र कुशीनगर प्रशासनले नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

advertisement_1680627706.gif
अन्य समाचार