राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३
२०८३ भदौ ११ काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । बाढीका कारण दुवै देशमा धेरै मानिसको ज्यान गएको, कयौँ बेपत्ता भएको र व्यापक भौतिक क्षति पुगेको भन्दै उहाँका प्रवक्तामार्फत जारी वक्तव्यमा समवेदना प्रकट गरिएको हो ।
महासचिव गुटेरेसले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । बाढीबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालमा सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा राष्ट्रसंघले विपद्को प्रभाव मूल्याङ्कन गर्ने र तत्काल आवश्यक संकटकालीन सहायता उपलब्ध गराउने काममा सक्रिय सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ । बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका उनले जानकारी गराएका छन् ।