राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २० माघ, २०८१
२० माघ, काठमाडौं । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०-२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरेको छ ।
बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन्। कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन चल्न सकेको छैनन् । धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । झापाको दमकमा बाटो अवरोध गराउँदै हिँडेका तीन जनालाई पक्राउ गरेको समेत एसपी पोखरेलले जानकारी दिए ।
मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण समितिले केहि दिन अघिबाट मेचि राजमार्ग तथा तमोर करीडोर बन्द गर्दै आएकोमा आइतबारबाट भने अरुण पूर्व बन्द गरिएको मुकुम्लुङ संघर्ष समितिले जनाएकाे छ ।