राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ साउन २०, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा नदिने अडान लिएपछि तत्कालका लागि उनकै नेतृत्वमा प्रदेश सरकारले निरन्तरता पाउने भएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको शीर्ष तहको छलफलमा मुख्यमन्त्री कार्कीले राजीनामा नदिने स्पष्ट पारेपछि पार्टी नेतृत्वले अर्को निर्देशन नआएसम्मका लागि सरकारलाई यथावत् राख्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको भावी रणनीति र नेतृत्वबारे निर्णय लिन बुधबार एमाले अध्यक्ष ओलीको निवासमा मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीबीच सघन छलफल भएको थियो । छलफलपश्चात् एमाले कोशीका अध्यक्ष खतिवडाले तत्कालका लागि कार्कीकै नेतृत्वमा सरकार सञ्चालन हुने र उपयुक्त समय आएपछि मात्र नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
बैठकमा अध्यक्ष ओलीले पार्टी नेतृत्वले निर्देशन दिएको जुनसुकै समयमा मुख्यमन्त्री लगायत सबै मन्त्रीहरूले सहजै राजीनामा दिनुपर्ने सर्त राखेका छन् । शीर्ष नेतृत्वको उक्त सर्तमा मुख्यमन्त्री कार्की सहमतिमा पुगेका हुन्। अध्यक्ष खतिवडाका अनुसार पार्टी अध्यक्षले उपयुक्त वातावरण देखेर निर्देशन दिएको समयमा पद छाड्ने वा निरन्तरता दिने निष्कर्षसहित हाललाई कार्की नेतृत्वकै सरकारलाई अघि बढाउने सहमति भएको छ ।