सोमबार, ११ कार्तिक, २०८२

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ आश्विन, २०८२

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

२०८२ असोज २५, काभ्रेपलाञ्चोक । गत असोज १७,१८ र १९ गतेको अविरल वर्षा सँगै विभिन्न स्थानमा क्षतविक्षत भएको पूर्वि नेपाललाई राजधानी जोड्ने विपी राजमार्ग आज शनिवार विहानबाट संचालनमा आएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिएको बताए ।

कार्यालयले राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो ।

“ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्‍यौँ र थप सुधार गर्नुपर्ने तथा साँघुरो भएको स्थानमा राति काम गरेर आज बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ”, योगेशले भने । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो ।

मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा समेत करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिररहेको बताए । बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो । सोही क्षेत्रमा गतसालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो ।

advertisement_1676998982.gif