राष्ट्रिय सन्देश संबाददाता, २० घण्टा पहिले
२०८३ असोज १४ सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप आज बिहान करिब ८:३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो ।
दुर्घटनामापरि घाइते हुनेहरूमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन् ।
दुर्घटनाको खबर लगत्तै पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपश्चात् सबै घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय रातामाटास्थित प्रधान मेडिकल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जिप चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत सकुशल रहेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।