आईतवार, २५ आश्विन, २०८३

बूढीगण्डकीमा बाढीको जोखिम बढेपछि आरुघाट बजार खाली गराइयो

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बूढीगण्डकीमा बाढीको जोखिम बढेपछि आरुघाट बजार खाली गराइयो

२०८३ असोज २५ गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि जोखिमलाई मध्यनजर गर्दै आइतबार बिहान गोरखाको आरुघाट बजार खाली गराइएको छ ।

नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढीको सम्भावित जोखिमबाट स्थानीयलाई जोगाउन सुरक्षाकर्मीले माइकिङ गर्दै बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । नदीमा आएको बाढीका कारण आसपासका बस्तीमा समेत जोखिम बढेपछि सतर्कता अपनाइएको हो ।

बूढीगण्डकी नदीमा पहिरोका कारण पानी थुनिएपछि एक्कासि बाढी आएको हो। बाढीले यसअघि नै गोरखाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । चुमनुब्री गाउँपालिका–३ न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका एक स्थानीयको कच्ची घरसमेत बगाएको छ भने अर्को घरमा पानी पसेको छ । धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा पनि ५ देखि ७ वटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको प्रहरीले जनाएको छ ।

नदीमा आएको आकस्मिक बाढीका कारण तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षाकर्मीको निर्देशनअनुसार सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

advertisement_1676551537.gif