आईतवार, २५ आश्विन, २०८३

बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन

२०८३ असोज २५ काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा घर, झोलुङ्गे पुल तथा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ । प्रारम्भिक जानकारीअनुसार बाढीले चुमनुब्री, आरुघाट र धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति गरेको छ भने पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् ।

गोरखाका पत्रकार शिव उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा राति करिब ४ बजे पहिरो खसेर खोला थुनिएको र त्यसपछि आएको बाढीले बूढीगण्डकी नदीको जलसतह बढाएको हो। बाढीले नदी आसपासका बस्ती तथा पूर्वाधारमा क्षति पुर्‍याएको उनले जानकारी दिए ।

प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ को सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको छ । त्यस्तै, भ्याको झोलुङ्गे पुल, फिलिम र न्याक्चेत जोड्ने झोलुङ्गे पुल तथा ठाडो भञ्ज्याङको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।

बाढीले जगत बगरका नौ वटा, सल्लेरीका पाँच वटा र ठाडो भञ्ज्याङका तीन वटा घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको पत्रकार उप्रेतीले बताए । त्यसैगरी, आरुघाट गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने मान्बु–सोती मोटरेबल पुल तथा धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिज पनि बाढीले बगाएको छ । आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने आरुघाटस्थित मोटरेबल पुलमा समेत क्षति पुगेको छ ।

यसैबीच, उङ्गिलुङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले जानकारी दिएको पत्रकार उप्रेतीले बताए। बाढीबाट भएको क्षति तथा सम्पर्कविहीन व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ ।

advertisement_1676998982.gif