राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असोज ०७ पोखरा । फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरूआत गरेको हो । जसअन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाजमा एक सय १३ यात्रु पोखरा आएका थिए । जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी र पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित भएका थिए । जहाज आजै साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबई फर्किएको छ ।
यसअघि केही अन्य वायुसेवा कम्पनीहरूले पोखराबाट अन्तरराष्ट्रिय उडानको प्रयास गरे तापनि ती उडानहरू नियमित हुन सकेका थिएनन् । तर, फ्लाई दुबईले दैनिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि पोखराको पर्यटन र हवाई क्षेत्रमा नयाँ आशा र उत्साह छाएको उनले बताए ।
सरकारले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन र आकर्षित गर्न विभिन्न महसुलहरूमा छुट दिने निर्णय गरेको छ । जसअनुसार विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । त्यसैगरी, ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा) शुल्कमा पनि ५० प्रतिशत छूट दिने व्यवस्था गरिएको छ ।
नियमित तालिका अनुसार फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६:१५ बजे पोखरा अवतरण हुनेछ भने साँझ ७:१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्ने छ।
विश्वव्यापी हवाई ट्रान्जिट हबको रूपमा रहेको दुबईसँगको सीधा उडानले पोखरालाई सीधा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । फ्लाई दुबईले हाल विश्वका १२२० भन्दाबढी गन्तव्यहरूमा सीधा उडान भर्दै आएको छ ।