राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२ जेठ २०८२, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ । हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।