शुक्रबार, १ जेष्ठ, २०८३

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

२०८३ जेष्ठ १, शुक्रबार, सिद्धार्थनगर । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताए ।

डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको उनको भनाइ छ । इन्धन र बिटुमिनको अकासिएको मूल्यले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेका गुनासो उनको छ ।

अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गरे। समयअनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएका उनको भनाइ छ ।

समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुने परिस्थिति सृजना भएको भन्दै उहाँले निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, बिमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग अनुरोध गरेका छन् ।

advertisement_1676553851.gif