राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १० चैत्र, २०८१
११ चैत्र २०८१, दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नष्ट भएको छ । आइतबार राति करिब १ः३० बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ ।
उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आए पनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।