राष्ट्रिय सन्देश संबाददाता, २३ घण्टा पहिले
२०८३ असोज २९ सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सुर्खेतबाट जुनीचाँदे जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप बिहान करिब २ बजे जुनीचाँदे गाउँपालिका-२ र ३ को सिमाना गेरेखेतस्थित भित्री सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिप चालक जुन चाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुन चाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) बुद्धि सागर पुरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुन चाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।
घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ । घाइते तीनै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।