राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ कार्तिक १९ बाजुरा । बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरन पेशाबाट जीविकोपार्जन गर्न कठिन हुन थालेपछि यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ ।
लामो समयदेखि फलामका औजार निर्माण गर्दै आउनुभएका आरन व्यवसायीहरूले यो पेशा बाट दैनिकी चलाउन समेत मुस्किल भएको बताएका छन् ।
विशेषगरी ल्वार र मिजार जातिले अँगालेको यो पेशा विगतमा गाउँ–गाउँमा फस्टाएको थियो। एक समय एउटै गाउँमा करिब १० जनासम्म आरन व्यवसायी सक्रिय हुने गरे पनि अहिले भने १/२ जना भेटाउन समेत मुस्किल भएको स्थानीयको भनाइ छ ।
परम्परागत रूपमा फलामका विभिन्न औजार बनाए बापत अन्न लिने ‘बालिघरे’ प्रथा अझै कायम रहे पनि यसबाट परिवार पाल्न र छोराछोरीको शिक्षा–दीक्षा चलाउन नसकिने अवस्था आएको व्यवसायीहरूको गुनासो छ । बडिमालिका नगरपालिका–६ का आरन व्यवसायी गोरे मिजारका अनुसार यही पेशाबाट गुजारा चलाउन नसक्दा धेरै व्यवसायी भारत लगायतका देशमा रोजगारीका लागि पलायन भएका छन् ।
यता, बजारमा बनिबनाउ आधुनिक औजार सजिलै उपलब्ध हुन थालेपछि परम्परागत आरन व्यवसाय थप सङ्कटमा परेको छ । प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुँदा पनि पुरानो सीप ओझेलमा पर्दै गएको हो ।
आरन पेसाको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट कुनै ठोस प्रोत्साहन कार्यक्रम नआएको व्यवसायीहरूको गुनासो छ । आवश्यक सहयोग र प्रविधिको अभावमा पुस्तौँदेखि चलिआएको यो पेशा सङ्कटमा पर्दै जाँदा स्थानीय संस्कृति र सीपसमेत हराउने चिन्ता बढेको छ ।