शुक्रबार, १४ कार्तिक, २०८३

कञ्चनपुरकी मेघा रावल फूलखेतीमा, फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

कञ्चनपुरकी मेघा रावल फूलखेतीमा, फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने

२०८३ कार्तिक १३ कञ्चनपुर । फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छन् ।

आफ्नै चार कट्ठा जग्गामा उनले सयपत्रीका दुई हजार ४०० बोट फूल रोपेकी छिन् । कृषि जेटिए अध्ययनपछि उहाँले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताइन ।

“तीनवर्षे कृषि जेटिए अध्ययनपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले फूलखेतीमा लागेँ”, रावलले भनिन “बजारमा फूलको माग र सम्भावना देखेर नै मलाई यसतर्फ आकर्षित गरेको हो ।”

तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनको अपेक्षा छ । “विभिन्न चाडपर्व र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको माग बढिरहेको छ”, उनले भनिन ।

उनले बाहिरबाट आयात गर्नुको साटो आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने बताइन । पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन थालेको छ ।

परम्परागत खेतीभन्दा फूलखेतीमा दुई गुणा बढी आम्दानी हुने उनको भनाइ छ । “यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने योजना छ”, रावलले भनिन, “आफूले सैद्धान्तिक रूपमा सिकेको सीप प्रयोगमा ल्याउने र आत्मनिर्भर बन्न खेतीले सहयोग गर्छ ।”

advertisement_1676551537.gif
अन्य समाचार