राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ कार्तिक १६ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
दिनको पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् । प्रतियोगितामा काठमाडौँले जित हात पार्न प्रयासमा रहने सम्भावना रहेको छ । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँका लागि आजको खेल जित्दै अंक तालिकामा खाता खोल्ने दाऊमा छ ।
अर्कोतर्फ, कर्णाली याक्स उत्कृष्ट लयमा देखिएको छ । अहिलेसम्म खेलेका दुवै खेलमा (जनकपुर बोल्ट्स र विराटनगर किङ्सविरुद्ध) जित निकाल्दै ४ अंक जोडिसकेको कर्णाली आज लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाउने रणनीतिसहित मैदान उत्रनेछ ।
त्यस्तै, साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ । हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको सुदूरपश्चिम अङ्क तालिकामा गति समात्न आज जित्नै पर्ने दबाबमा छ ।
यता चितवन राइनोज भने प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । आफूले खेलेको पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो । ३ अंकका साथ बलियो स्थितिमा रहेको चितवन आज सुदूरपश्चिमलाई हराउँदै जितको लय कायम राख्ने प्रयासमा रहनेछ ।