राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १२ चैत्र, २०८१
१३ चैत्र २०८१, काठमाडौं । एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १–० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल गर्न सफल भएको थियो ।
सिंगापुरलाई १–० गोल अन्तरले पराजित गर्दै उच्च मनोवलका साथ मलेसिया पुगेको नेपाली टिम पहिलो खेलमै पराजित भएको हो। चैत ७ गते सिंगापुरको नेसनल स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा जेलेस्पीजंग कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरलाई ३६ वर्षपछि पराजित गरेको थियो।
नेपाल फिफा वरीयतामा १७५औँ स्थानमा छ भने मलेसिया १३२औँ स्थानमा छ। पुरुष फुटबलमा यसअघि भएका सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको थिएन। मलेसियाले ६ खेल जित्दा एक खेल भने बराबरीमा सकिएको थियो।