राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ जेष्ठ ०२, शनिबार, काठमाडौं । ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकीय इनिङको मद्दतले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा खेलिएको खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ ।
अमेरिकाले प्रस्तुत गरेको १ सय ९६ रनको मध्यम लक्ष्यलाई नेपालले मात्र ३६ ओभर ४ बलमा केवल १ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालको यो जितसँगै घरेलु दर्शकमाझ खुसीयाली छाएको छ ।
नेपाललाई सहज जित दिलाउने क्रममा ओपनिङ ब्याटर कुशल भुर्तेलले आक्रामक र परिपक्व ब्याटिङको नमुना प्रस्तुत गरे । उनले १ सय १७ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतमा १ सय २० रनको अविजित शतकीय इनिङ खेले । उनलाई अर्का ओपनर आसिफ शेखले बलियो साथ दि ए।
कुशल र आसिफबीच पहिलो विकेटका लागि १ सय ४५ रनको उत्कृष्ट शतकीय साझेदारी भएको थियो, जसले नेपालको जितको बलियो आधार खडा गर्यो । आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भएपछि मैदान छिरेका इसान पाण्डे २९ बलमा १६ रन बनाउँदै कुशलसँगै क्रिजमा अविजित रहे । अमेरिकाका बलर मोहम्मद मोहसिनले मात्र नेपालको एकमात्र विकेट लिन सके ।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका ४३ ओभर ३ बलमा १ सय ९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८९ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।
स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै अमेरिकालाई बलियो स्थितिमा पुर्याएका थिए। शेहान ५२ बलमा ५० रन बनाएर आउट भए । खेलमा बलियो बन्दै गएको यो शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए ।
१ सय २२ रन जोड्दा सम्म मात्र १ विकेट गुमाएर बलियो स्थितिमा रहेको अमेरिका त्यसपछि भने नेपाली बलरहरू सामु पूर्ण रूपमा धराशायी बन्यो। नेपाली बलरहरू खेलमा हाबी भएपछि अमेरिकी ब्याटरहरूले अर्को कुनै ठूलो साझेदारी गर्न सकेनन् ।
अमेरिकाका मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन जोड्नु बाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन् । कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १ रनमा आउट भए भने मोहम्मद मोहसिन र नोसथुस केन्जिगे शून्य रनमै पेभेलियन फर्किए । शौरभ नेत्रभाल्कर शून्य रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए । उनलाई साथ दिँदै सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक–एक विकेट चट्काए । अमेरिकामाथि सानदार जित निकालेको नेपालले अब आफ्नो तेस्रो खेल आगामी सोमबार स्कटल्याण्डसँग खेल्ने तय भएको छ ।