राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १२ पुष, २०८१
नेपालगन्ज। लुम्बिनी कप महिला फुटवल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि नेपालगन्जमा हुने भएको छ।अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्।
लुम्बिनी कप महिला फुटवल प्रतियोगिताको रंगशालामा सचिवालय उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले लुम्बिनी कप महिला फुटबलले नेपालगन्जलाई फेरि राष्ट्रिय स्तरमा पहिचान गराउने अवसर प्रदान गर्ने बताउनु भयो । उहाँले भन्नु भयो– ‘नेपालगन्जले देशभरमा खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएको छ।नेपालगन्ज खेलकुदको हव हो । तर पछिल्लो समय खेलकुदको स्तर घटेको अनुभव भएको छ।हामीसँग भएको स्रोत साधनको प्रयोग गरेर उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नु पर्छ र राज्यले पनि खेलाडीहरु माथि लगानी गर्दै खेलाडीको सम्मान गर्ने वातावरण बनाउन जरुरी छ ।
सो अवसरमा अखिल नेपाल फुटवल संघ (एन्फा) ले आयोजकलाई सोमवार पत्र मार्फत् लुम्बिनी कप महिला फुटवल संचालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनु भयो।अध्यक्ष शाहीले यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताउनु भयो ।
बाँके जिल्ला फुटवल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले लुम्बिनी कप फुटबलले यस क्षेत्रको महिला फुटबलको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले भन्नु भयो– ‘कोभिड पछि नेपालगन्जले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकेको थिएन्।तर यो प्रतियोगिताबाट नेपालगन्जमा फुटबल गतिविधि बढेको छ।प्रतियोगितालाई सफल बनाउन संघको सम्पूर्ण टिम खटिनेछ ।’
यसअघि गत मंसिर १६ गते नेपाली महिला फुटवल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुव्बाले संयुक्त रुपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए । लोगोमा शान्तिका अग्रदूत भगवान गौतमवुद्ध र महिला फुटवल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ । सो अवसरमा दुबै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटवलको विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटवल संघ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताउनु भयो ।
‘लुम्बिनी कप महिला फुटवल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित छ शाहले भन्नुभयो– ’फुटवल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुङ्गा बन्नेछ । उक्त प्रतियोगितामा नेपालगन्जको पहिचानका लागि विभिन्न साँस्कृतिक झाँकी, कला आदि पनि समावेश गरिने छ भन्दै शाहले भन्नुभयो– प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सबैलाई हार्दिक अपिल गर्दछौं ।सो अवसरमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्य सचिव भीम ओली, नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उपमेयर उमा थापा, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्द लगायतले प्रतियोगिताले महिला खेलाडीहरुलाई प्रोत्साहन गर्नुका साथै यहाँको पर्यटन प्रवद्र्धनमा थप सघाऊ हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैवीच नेपालगन्ज रंगशालामा आयोजना हुने लुम्बिनी कप महिला फुटवलको तयारी तीव्र पारिएको आयोजक अन्तरालले जनाएको छ। प्रतियोगिताको तयारीको क्रममा प्रतियोगितालाई व्यवस्थित ढंगले आयोजना गर्न सचिवालय प्रमुखको जिम्मेवारी सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्ल वरिष्ठ फोटोग्राफर तथा नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त रमेश मल्ललाई प्रदान गरिएको छ ।यसैगरी लुम्बिनी कपका सूचना र समाचारलाई व्यापकता दिन तथा संचारकर्मीहरुसँग समन्वय गर्न वरिष्ठ पत्रकार निरज कुमार गौतमलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
गौतम नेपाल पत्रकार महासंघ बाँकेको पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिको क्षेत्रीय कार्यालय प्रमुखबाट सेवा निवृत्त हुन् ।