राष्ट्रिय सन्देश संबाददाता, २१ घण्टा पहिले
२०८३ बैशाख १६, काठमाडौं ।आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले हार बेहोरेको छ। बुधबार टियु क्रिकेट मैदानमा भएको खेलमा वर्षा बाधक बनेपछि डिएलएस (DLS) मेथडका आधारमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको हो।
ओमानले प्रस्तुत गरेको ३०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल अघि बढ्न नसक्दा नेपाल नतिजा सुम्पिन बाध्य भयो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। अन्य ब्याटरहरू क्रिजमा जम्न नसक्दा नेपालले मध्यम स्कोरमै महत्वपूर्ण विकेट गुमाएको थियो। टोलीका लागि भीम सार्की: २८ रन ,आसिफ शेख: १९ रन,आरिफ शेख र गुलशन झा: १४–१४ रन ,कप्तान रोहित पौडेल: १० रन बनाएका थिए।ओपनर कुशल भुर्तेल र बसिर अहमदले समान १–१ रन मात्र जोड्न सके। ओमानका बलर नदिम खानले ३ विकेट लिए भने शकिल अहमदले २ विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल तयार पारेको थियो। ओमानको इनिङ्समा कप्तान जतिन्दर सिंह नायक बने। उनले मात्र ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रनको सानदार शतकीय पारी खेले।ओमानका लागि जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५ र हम्माद मिर्जाले ३० रनको योगदान दिएका थिए।
बलिङतर्फ नेपालका तीव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। यस्तै, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट बाँडे।सिरिजको पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा भने लय गुमाउन पुग्यो। ओमानले भने यसअघि यूएईसँग हार बेहोरेको थियो। यो जितसँगै ओमानले सिरिजमा पुनरागमन गरेको छ।