शनिबार, १३ भाद्र, २०८३

रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को फाइनलमा

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को  फाइनलमा

२०८३ भदौ १२ काठमाडौँ  नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ऐतिहासिक सफलता हासिल गरेका छन्।

अत्यन्तै प्रतिस्पर्धात्मक र कडा बनेको १५ मिनेटको खेलमा ढाँटले मर्डकलाई २९–२८ को स्प्लिट डिसिजनमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्। यस जितसँगै उनी रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।

अब फाइनल उपाधि जितेमा उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता (काउन्ट्रयाक्ट) गर्ने अवसर पाउनेछन्।बझाङ्गी बाघ' उपनामले परिचित रवीन्द्रले बान्टमवेट विधामा खेलेका ११ खेलमध्ये १० मा जित र १ मा मात्र हार व्यहोरेका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएयता उनी लगातार विजययात्रामा छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ मा भारतीय फाइटर चुनरेङ कोरेनलाई नकआउट गर्दै उपाधि जित्ने उनी पहिलो नेपाली बनेका थिए। त्यसपछि गत मे महिनामा मकाउमा भएको रोड टु युएफसीको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै सेमिफाइनल पुगेका ढाँट अहिले इतिहास रच्ने अन्तिम मोडमा आइपुगेका छन्।

advertisement_1676998982.gif
अन्य समाचार