राष्ट्रिय सन्देश संबाददाता, १९ घण्टा पहिले
२०८३ बैशाख २९, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको रोमान्चक खेलमा नेपाल स्कटल्यान्डसँग डकवर्थ लुइस (DL) पद्धतिका आधारमा २ रनले पराजित भएको छ । वर्षाले प्रभावित भएपछि ३९ ओभरमा झारिएको खेलमा २२१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २१८ रन मात्र बनाउन सक्यो।
मध्यक्रमका ब्याटर गुल्सन झा ले विष्फोटक ब्याटिङ गर्दै ३५ बलमा अविजित ६१ रन (३ चौका, ५ छक्का) जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । उपकप्तान दीपेन्द्र सिंह ऐरी ले ५५ रनको अर्धशतकीय योगदान दिए भने कप्तान रोहित पौडेल ले ३२ रन बनाए । ओपनरद्वय विनोद भण्डारी १० र आसिफ शेख २१ रनमा आउट भए भने अर्जुन साउद शून्यमै पभेलियन फर्किए । करण केसीले १८ र नन्दन यादवले अविजित ८ रन जोडे।स्कटल्यान्डका लागि ब्राड करी ले सर्वाधिक ३ विकेट लिए भने मार्क वाटले २ विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । उसका लागि ओपनर जर्ज मुन्से ले ६२ बलमा ७५ रनको आक्रामक इनिङ्स खेले ।मुन्से र फिन्ले म्याक्रिथ (३५ रन) बीच पहिलो विकेटका लागि ११४ रनको साझेदारी भएको थियो ।अन्य ब्याटरमा माइकल इङ्लिसले ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन जोडे ।नेपालका लागि लेग स्पिनर सन्दीप लामिछाने ले १० ओभरमा ४ विकेट लिँदै किफायती बलिङ गरे।
त्यस्तै, करण केसी र डेब्युटेन्ट नन्दन यादवले समान २-२ विकेट लिए पनि स्कटल्यान्डको विशाल योगफल रोक्न पर्याप्त भएन ।