सोमबार, १७ कार्तिक, २०८३

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

२०८३ कार्तिक १५ सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप व्यवस्थित र तीव्र बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गरेका छन् । प्रतियोगिताको आयोजना स्थल रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण र व्यवस्थापनका विषयमा सो भेट केन्द्रित रहेको थियो ।

सुर्खेतमा सम्पन्न छलफलमा मन्त्री पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई ऐतिहासिक रूपमा सफल पार्न संघीय र प्रदेश सरकारबीचको समन्वयका विषयमा कुराकानी भएको छ । सो अवसरमा मन्त्री पोखरेलले प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको जानकारी दिए । उनले कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको बताए । उनीहरूले प्रतियोगिताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । मन्त्री पोखरेल हाल दशौँ राष्ट्रिय खेलकुदको तयारी, पूर्वाधार निरीक्षण र सरोकारवालाहरूसँगको समन्वयका लागि सुर्खेत भ्रमणमा रहेका छन् ।

advertisement_1676551694.gif