आईतवार, १३ बैशाख, २०८३

विश्वकप लिग–२ :युएईविरुद्ध नेपालको सानदार जित, दीपेन्द्र र करणको उत्कृष्ट प्रदर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

विश्वकप लिग–२ :युएईविरुद्ध नेपालको सानदार जित, दीपेन्द्र र करणको उत्कृष्ट प्रदर्शन

२०८३ बैशाख १२, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ३७ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ । २०१ रनको मध्यम लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा १६३ रनमै समेटिएपछि नेपालले जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रन जोडेको थियो।नेपालको पाली सम्हाल्ने क्रममा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७६ रनको महत्वपूर्ण अर्धशतकीय योगदान दिए । उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे। अन्य ब्याटरहरूमा कुशल भुर्तेलले २४, करण केसीले २२, र सोमपाल कामी तथा आरिफ शेखले समान १५–१५ रन जोडे।युएईका तर्फबाट बलिङमा जुनैद सिद्धिकी र अजय कुमारले समान ३–३ विकेट लिएका थिए ।

नेपालले प्रस्तुत गरेको लक्ष्य रक्षा गर्ने क्रममा बलरहरूले कसिलो प्रदर्शन गरे। करण केसीले सर्वाधिक ४ विकेट (९.२ ओभरमा १९ रन) लिँदै युएईको ब्याटिङ लाइनअप ध्वस्त पारे । यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट हात पारे।

युएईका लागि हरप्रित सिंहले ३९ र मुहम्मद वसीमले ३४ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।अर्को खेल: नेपालले अब बुधबार ओमानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

advertisement_1680627680.gif