राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २९ चैत्र, २०८०
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो ।
जुन गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ ।
सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पूँजीगत खर्चमा दिएको तीब्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।
यस्तै, आर्थिक वर्ष २०८१/०८२ सन् २०२५०मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो नेपाल विकास अपडेट २०२३ मा चालु आवमा सबैभन्दा बढी सेवा क्षेत्रको वृद्धिदर ५।१ प्रतिशत हुने उल्लेख छ । वास्तविकतर्फ उद्योग क्षेत्रको वृद्धिदर ३.२ र कृषि क्षेत्रको २.१ प्रतिशत वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।
व्यापार घाटा जीडीपीको ३०.१ प्रतिशत हुने विश्व बैंकले जनाएको छ । नेपाल सरकारले चालु आव २०८०/८१ मा आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ ।