मंगलवार, २० आश्विन, २०८३

नेप्सेमा निरन्तर गिरावट : सोमबार २०.४८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब २७ करोडमा सीमित

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

नेप्सेमा निरन्तर गिरावट : सोमबार २०.४८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब २७ करोडमा सीमित

२०८३ असोज १९ काठमाडौँ I नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक लगानीकर्ताहरूलाई पूर्वजानकारी गराएर मात्र सेयर बिक्री गर्न पाइने व्यवस्था गरेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा परेको छ।

उक्त नयाँ व्यवस्थाका कारण सेयर लगानीकर्ताहरूको मनोबल कमजोर भई नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको हो।गत साताको अन्तिम कारोबार दिन शुक्रबार ११ अंकले घटेको बजारमा साताको पहिलो दिन सोमबार पुनः २०.४८ अंकको गिरावट आई परिसूचक २५६६.७६ अंकमा झरेको छ।

बजारमा सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। सोमबार कारोबार सुरु भएदेखि नै निरन्तर घटेको नेप्से बजार बन्द हुने समयसम्म सोही क्रममा रह्यो। दिनभर ३ सय ५९ कम्पनीका ४४ हजार ७ सय ७७ पटकको कारोबारबाट ९० लाख कित्ता सेयर खरिदबिक्री हुँदा जम्मा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। विभिन्न कम्पनीहरूमा लकइन अवधि सकिएपछि संस्थापक लगानीकर्ताहरू सेयर बेचेर बाहिरिने क्रम बढेकाले धितोपत्र बोर्डले पूर्वस्वीकृति अनिवार्य गर्ने निर्णय गरेको थियो, जसलाई सरोकारवालाहरूले लगानीकर्ताको मनोबल गिराउने मुख्य कारण मानेका छन्।

यद्यपि, प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सो व्यवस्थामा पुनर्विचार गर्न बोर्डलाई निर्देशन दिइसकेको भए पनि बजारमा त्यसको सकारात्मक असर अझै देखिन सकेको छैन। यसका अतिरिक्त, हाल लाभांशको सिजन भएकाले कम्पनीहरूको सेयर मूल्य समायोजन हुनुले पनि परिसूचक घटाउन सहयोग पुर्‍याएको छ।

सोमबारको बजारमा अधिकांश समूहगत परिसूचकहरू राताम्मे बनेका छन्। जसअनुसार उत्पादनमूलक समूह सर्वाधिक १०४.५१ अंकले घट्यो भने जीवन बीमा ९३.८१, होटल ७३.२८, निर्जीवन बीमा ६०.९९, जलविद्युत् ३६.९५, विकास बैंक २९.१६, लघुवित्त २७.२४, वित्त २४.३६, अन्य १६.६७, बैंकिङ १०.७३ र लगानी समूह १.०१ अंकले घटेका छन्। कुल कारोबार भएका कम्पनीमध्ये केवल ३२ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ४२ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। घट्दो बजारका बिच पनि व्यापार समूह भने १०.७१ अंकले बढेको छ।

advertisement_1676551646.gif