शनिबार, २३ श्रावण, २०८३

२५० रुपैयाँको सामान किन्दा १० लाख उपहार

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ श्रावण, २०८३

२५० रुपैयाँको सामान किन्दा १० लाख उपहार

२०८३ साउन २२, काठमाडौँ । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ । शुक्रवार अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उपहार पाउनेहरूको नाम सार्वजनिक गरिएको हो ।

आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कञ्चनपुर, पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको पहिलो बम्पर नगद उपहार जितेका हुन् ।  १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ ।

भूसालका अनुसार अन्य १५ जनालाई एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । एक लाख नगद उपहार पाउनेहरूको परिचय भने खुलाइएको छैन । उनीहरूको गोपनीयता कायम गर्नका लागि परिचय नखुलाएको महानिर्देशक भूसालले जानकारी दिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।

विभागले साउन १ देखि १५ गतेसम्म जारी गरिएका कर बिजक (बिल) हरूलाई समेटेर गरिएको पहिलो भाग्यशाली गोलाप्रथा (ड्र) मार्फत विजेताको नाम घोषणा गरेको हो । उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा अनिवार्य बिल लिने बानी बसाल्न र कर प्रणालीमा प्रोत्साहन गर्न विभागले यो योजना सञ्चालनमा ल्याएको हो ।

विभागका अनुसार करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सही तरिकाले बिल लिएर योग्य ठहरिएका सर्वसाधारण उपभोक्ताहरू माझबाट गोलाप्रथा गरी पारदर्शी रूपमा विजेता छनोट गरिन्छ ।

सर्वसाधारणलाई कर प्रणालीमा जोडिन प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको यो उपहार कार्यक्रम अन्तर्गत अब हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन नियमित रूपमा उपहार विजेताको घोषणा गरिने विभागले जनाएको छ ।

advertisement_1680627706.gif