शुक्रबार, १८ बैशाख, २०८३

सुनको मूल्य एकैदिन तोलामा ३ हजार ४०० रुपैयाँ बढ्यो

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

सुनको मूल्य एकैदिन तोलामा ३ हजार ४०० रुपैयाँ बढ्यो

२०८३ बैशाख १८, काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँ तोकिएको छ । हिजो बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८६० रुपैयाँ कायम गरिएको छ ।

बजारको पछिल्लो तथ्यांक अनुसार हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० र चाँदी ४ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो । बुधबारको तुलनामा बिहीबार केही घटेको मूल्यले आज पुनः नयाँ उचाइ तय गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको देखिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ६५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ७६ अमेरिकी डलर कायम भएको छ । विश्व बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उत्तारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ महँगिएको हो ।

advertisement_1676551694.gif