राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८२ कार्तिक ९, काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । आइतबारका लागि आज सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले कायम गरेको हो ।
त्यस्तै चाँदीको मूल्य तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २. ४३ तोला हुन्छ ।
नेपालमा भने सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।