बिहीबार, २० कार्तिक, २०८३

उदयपुर सिमेन्ट प्रदेश सरकारलाई दिए दोब्बर क्षमतामा सञ्चालन गर्छौँ: मुख्यमन्त्री कार्की

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

उदयपुर सिमेन्ट प्रदेश सरकारलाई दिए दोब्बर क्षमतामा सञ्चालन गर्छौँ: मुख्यमन्त्री कार्की

२०८३ कार्तिक १९ उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदयपुर सिमेन्ट उद्योग सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिए विगतको तुलनामा दोब्बर उत्पादन क्षमतामा उत्पादन सञ्चालन गरेर देखाउने दाबी गरेका छन् ।

बुधबार त्रियुगा नगरपालिका ६ जलजले स्थित यातायात सेवा कार्यालय उद्घाटनका लागी उदयपुर अाएका मुख्यमन्त्री कार्कीले  सदरमुकाम गाईघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले उदयपुर सिमेन्ट उद्योगको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिन संघीय सरकारसँग माग गर्दै आएको बताए ।

विगतका सरकारका पालादेखि नै प्रदेश सरकारले उदयपुर सिमेन्ट उद्योग सञ्चालनको जिम्मेवारी लिन संघीय सरकारसँग आग्रह गर्दै आएको उल्लेख गर्दै उनले उद्योगका विद्यमान समस्या प्रदेश सरकारले पहिचान गरिसकेको बताए ।

मुख्यमन्त्री कार्कीले उद्योगका प्राविधिक, व्यवस्थापकीय तथा आर्थिकलगायत सबैखाले समस्या समाधान गरेर उद्योगलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने दाबी गर्नुभयो । प्रदेश सरकारलाई जिम्मेवारी दिए उद्योगलाई अहिलेको अवस्थाभन्दा माथि उठाउँदै विगतको तुलनामा दोब्बर उत्पादन क्षमतामा सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

उहाँले उदयपुर सिमेन्ट उद्योगलाई उत्पादन र रोजगारीको केन्द्रका रूपमा मात्रै नभई वातावरणमैत्री औद्योगिक क्षेत्रका रूपमा समेत विकास गर्ने योजना सुनाउनुभयो । उद्योग परिसरभित्र हरित पार्क निर्माण गरी हरियाली र स्वच्छ वातावरण कायम गर्दै उद्योग सञ्चालन गर्ने उनले बताए ।

लामो समयदेखि विभिन्न आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय समस्या झेल्दै आएको उदयपुर सिमेन्ट उद्योगको पुनरुत्थानका विषयमा मुख्यमन्त्री कार्कीको यो अभिव्यक्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

उद्योगको सञ्चालन व्यवस्थापन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विषयमा संघीय सरकारले निर्णय गर्नु पर्ने हुन्छ । मुख्यमन्त्रीको प्रतिबद्धता कार्यान्वयनमा आउन संघीय सरकारको निर्णय महत्त्वपूर्ण हुने देखिन्छ ।  

advertisement_1676551694.gif