राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
३ जेठ २०८२, काठमाडौं । नेकपा एमालेका नेताद्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशभर ‘मदन–आश्रित स्मृति दिवस’ मनाउन लागिएको हो ।
यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ ।
एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए ।
विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो । विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ ।
त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ ।