राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ भदौ १८ काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्णरूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३५ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ ।
बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिनेछ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
शिवपुरी गाउँपालिका–८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।