राष्ट्रिय सन्देश संबाददाता, ४७ मिनेट पहिले
२०८३ असोज २६ काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा खसेको बाढी तथा पहिरोले मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पुल बगाएपछि गोरखा-धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य चार स्थानका सडकहरूमा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।
गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका-२, ३ र ९ मा बाढीले क्षति पुर्याउँदा गोरखा–धादिङ जोड्ने मुख्य सडक ठप्प बनेको हो ।
बूढीगण्डकी नदीको बाढीले आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पुलका साथै वडा नं. ९ नयाँपुलस्थित गोरखा-आरुघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएपछि यस क्षेत्रमा सवारी साधन तथा पैदल यात्रुको आवागमन पूर्ण रूपमा रोकिएको छ ।
त्यस्तै बागमती प्रदेशअन्तर्गत धादिङको त्रिभुवन राजपथस्थित धुनिबेंसी नगरपालिका-९ खत्रीपौवामा पहिरो खस्दा सडक एकतर्फी मात्र सञ्चालनमा छ । म्याग्दीको बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र खुला रहेको छ ।
नवलपरासी (पूर्व) स्थित कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा खसेको लेदो र पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालन भएको छ, जहाँ ठूला सवारी साधनहरू चल्न सकेका छैनन् । मनाङमा पनि बाढीका कारण बेँसीसहर हुँदै खाङसारतर्फ जाने सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध तथा जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्न नेपाल प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।