मंगलवार, ३० भाद्र, २०८३

मुस्ताङमा दुई दिने जलवायु सम्मेलन, ४२१ स्थानीय तहका दुई हजारभन्दा बढी जनप्रतिनिधि सहभागी हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

मुस्ताङमा दुई दिने जलवायु सम्मेलन, ४२१ स्थानीय तहका  दुई हजारभन्दा बढी जनप्रतिनिधि सहभागी हुँदै

२०८३ भदौ ३० मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा सहभागी हुन देशभरका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि सोमबार साँझ नै मुस्ताङ आइपुगिसकेका छन् ।

सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि तथा अतिथिहरूका लागि स्थानीय होटलहरूमा बस्ने प्रबन्ध मिलाइएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।

सम्मेलनलाई भव्य र व्यवस्थित बनाउन गाउँपालिकाका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा स्थानीय सङ्घसंस्थाहरू परिचालन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष जमुना थकालीका अनुसार सहभागीहरूका लागि बिहानको खाजा र दिउँसोको खाना सम्मेलनस्थलमै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ भने बेलुकीको खाना र बसाइ तोकिएका होटलहरूमा मिलाइएको छ ।

सम्मेलनका अवसरमा मुस्ताङका सडक र बस्तीहरूलाई मौलिक कला, संस्कृति तथा ध्वजापतङ्गाले सजाइएको छ । भित्री तथा मुख्य सडकहरूमा सडक बत्ती जडान गरी झिलीमिली पारिनुका साथै स्वास्थ्यकर्मी, खानेपानी, इन्टरनेट, विद्युत्, सवारी पार्किङ र ट्राफिक व्यवस्थापनलाई समेत चुस्त बनाइएको छ ।

जोमसोमस्थित कभर्डहलमा आयोजना हुने सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे जनचेतना फैलाउन २८ फिट उचाइको ‘रोइरहेको पृथ्वी’ को बेलुन आकृति राखिएको छ ।

साथै, मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रचारप्रसारका लागि ५० भन्दा बढी स्टलहरू समेत राखिएको कृषि शाखा अधिकृत रोशन थकालीले बताए । यो सम्मेलन जलवायु परिवर्तनको असरसम्बन्धी विशेष घोषणापत्र घोषणापत्र जारी गर्नेछ ।

advertisement_1676553851.gif